प्रिमियर ‘अञ्जिला’ हेर्नेको रसायो आँखा

फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको फिल्म ‘अञ्जिला’ लाई प्रिमियरमा रुचाइएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत उपस्थितले फिल्म प्रेरणादायी रहेको भन्दै तारिफ गरेका हुन् ।

अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स लगायतका फिल्म टिमलाई उपस्थितले बधाई दिएका थिए । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा फिल्ममा उतारेको भन्दै निर्देशक चाम्सको प्रशंसा गरिएको छ ।

आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिपसँग परिचित रहेता पनि जीवन बुझ्न पाएको बताए । ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ’, उनले भने ।

पूर्व एन्फा अध्यक्ष गणेश थापाले आफू ३-४ पटक रोएको बताए । उनले भने,‘एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ । हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।’

निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने फिल्म रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए । अभिनेत्री अलिशा राईले यो फिल्मले जीवन जिउन पनि सिकाउने बताइन् । अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए ।

निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको जनाए ।‘मैले एन्जिलालाई ‘तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ’ भनेको थिएँ । म आफैले पनि हरेक पटक फिल्म हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ’, चाम्सले भने ।

निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए । फिल्ममा कप्तान सुब्बासँगै प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन्‌ भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्