फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रिमियर पश्चात सर्वत्र चर्चा बढिरहेको छ । फिल्म हेर्ने दर्शक बनेर पुगेका सेलिब्रेटीले यसलाई प्रसंशा गर्दै प्रतिक्रिया दिईरहेका छन् । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हेरेपछि गायक तथा अभिनेता प्रकाश सपूतले तारिफ गरेका छन् ।
उनले सुन्दर र मनोरन्जनात्मक फिल्म हेर्न पाइएको भन्दै निर्माण टिमलाई धन्यवाद समेत दिए । ‘जात्रा देखि नै बनिरहेजो शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ । म महाजात्रा निर्माण समुहलाई धन्यवाद दिन चाहन्छु, एउटा सुन्दर फिल्म हेर्न पाएँ । यहाँ देखाईएको विषय गम्भीर छन् तर प्रस्तुती दर्शकलाई बुझ्ने किसिमले तयार गरिएको छ । यो पर्फेक्ट फिल्म हो’, गायक सपूतले भने ।
प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।










