फिल्म । बिहीबारबाट राष्टिय सभा गृहमा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनसँगै सुरु भएको छ । चाइनिज फिल्म ‘द कम्पोजर’ देखाउदै सुरु गरिएको फेस्टिभल फागुन १ देखि ५ सम्म चल्नेछ । उपत्यकाको सभागृहसँगै पर्यटन बोर्ड र सर्वनाम थियटरमा फेस्टिभलसँग जोडिएका विभिन्न गतिविधि हुनेछ । निफको दोस्रो दिन हलिउड निर्माता , पटकथा लेखकहरुले नेपाली फिल्मकर्मी माँझ आफ्नो भावना साटेका छन् । कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफको उपस्थिति रहेको छ भने बलिउड फिल्मका निर्माता तथा निर्देशक प्रकाश झा पनि छन् ।
ल्यारी कासानोफ हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन : फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिल भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् । महोत्सवमा ४० देशका ८० फिल्म प्रदर्शन हुनेछन भने २० देशका फिल्मकर्मीको उपस्थिति रहेको निफ अध्यक्ष केपी पाठकले बताएका छन् । पानसमा बत्ति बालेर सभामुख अग्नि सापकोटा उद्घाटन गरेको निफले नेपाली फिल्म र फिल्मकर्मीलाई टेवा पुर्याउनेमा विश्वस्त रहेको अध्यक्ष पाठकले बताए ।
उनले फेस्टिभल जीवन्त र सजिव अन्तरक्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्ममेकरलाई प्रेरित गर्ने बताएका छन् । अध्यक्ष पाठकले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखेका थिए । ‘हामीले फिल्मसँगै छलफलका लागि पनि अन्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा फिल्मको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ । वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ,’ पाठकले भने ।












