फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ले दर्शकहरूबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्म हेर्नका लागि हलहरूमा दर्शकको भीड लागेको र यसैलाई मध्यनजर गर्दै शो संख्यासमेत बढाइएको निर्देशक नवीन चौहानले जानकारी दिनुभएको छ । निर्देशक चौहानका अनुसार, पहिलो दिन करिब दुई सय शोबाट सुरू भएको फिल्म दोस्रो दिन शनिबारसम्म आइपुग्दा तीन सय शोमा प्रदर्शन भइरहेको छ ।
निर्देशक चौहानसहित अभिनेता विपिन कार्की, अभिनेत्री मिरुना मगर तथा संगीत निर्देशक एवं गायक सुजन चापागाईं लगायतको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न फिल्म भवनमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छ । अभिनेता विपिन कार्कीले कलाकारले गरेको मिहिनेतलाई दर्शकले रुचाउँदा छुट्टै ऊर्जा प्राप्त हुने बताए ।
‘ऊनको स्वीटर’ मा विपिन कार्की र मिरुना मगरका साथै एलेक्स पारस, परिक्षा लिम्बू, सुनिल पोखरेल, सुरज तमु, विल्सन विक्रम राई, भावना खपाङ्गी मगरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।