‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त सम्पन्न

फिल्म । फिल्म ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त समारोह काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा आज सम्पन्न भएको छ । निर्माण पक्षले आयोजना गरेको उक्त शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार र प्राविधिक टोलीको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै फिल्मको छायांकन यही जुन २२, बिहीबारबाट सुरु हुने जानकारी प्राप्त भएको छ। काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा छायांकन हुने यो फिल्मको छायांकन तालिका २० दिनको तय गरिएको छ ।

‘द ब्ल्यू लाइट’को निर्देशन बलिराम चौहानले गर्दैछन्, जो चर्चित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । यो उनको डेब्यु निर्देशकीय परियोजना हो । फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। पोस्टरमा नीलो रङले घेरिएको वातावरणमा एक बालिका उभिएको देखिन्छ । उनको कम्मरमाथिको भाग, जुँगुरुङ कपाल र विचलित मुद्राले फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमिलाई संकेत गर्छ ।

यो साइकोलोजिकल थ्रिलर जनराको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । स्काइफल पिक्चर्सद्वारा प्रस्तुत यो फिल्मको सह–निर्माताका रूपमा रमन ग्रे छन् भने छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

कमेन्ट गर्नुहोस्