‘मितज्यू’को फस्ट लुकमा तेरिया, दयाहाङ र सौगात

फिल्म । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर देखिएका छन् । ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिने पोस्टरमा पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दयाहाङ र सौगातबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ । जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया गम्भीर मुद्रामा बसेकी देखिन्छिन्।

पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ। गाडीको हुटमा कोसेलीका स्वरूपमा सुँगुर, राडीपाखी र तरकारी राखिएको छ। छेउमा डोको र गाग्री पनि देखिन्छन्, जसले बसाइँसराइ वा कुनै सामाजिक सन्दर्भको संकेत दिन्छ। तेरियाको बिरक्त भाव र दुई पात्रबीचको टकरावले दर्शकमाझ कौतुहलता जगाउने देखिन्छ।

उनीहरूबीचको द्वन्द्व तेरियाका कारण हो वा अन्य कुनै सामाजिक–पारिवारिक कारणले, त्यो भने टिजर र ट्रेलरमार्फत प्रस्ट हुने अपेक्षा गरिएको छ। तर पोस्टरले मात्र पनि कथाको मूल द्वन्द्वबारे जिज्ञासा जगाउन सफल भएको देखिन्छ।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ । सम्पादन लोकश बज्राचार्य, छायांकन शिशिर बिशंखे र कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।

कमेन्ट गर्नुहोस्