नागरिक एपमा डेटा निःशुल्क गर्ने तयारी

0 Shares

देश । सम्पूर्ण सरकारी सेवालाई मोबाइलको एकै एपबाट उपलब्ध गराउने भन्दै सरकारले गत माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सरकारसँग प्रत्यक्ष जोडिएको आधिकारिक एप भएकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको खबर कान्तिपुर दैनिकमा छ ।

नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने विषयमा टेलिकमको प्राविधिक टोली र मन्त्रालयका प्रतिनिधिबीच छलफल भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । सरकारले सार्वजनिक गरेको एपको बेटा भर्सन (परीक्षण संस्करण) मा नागरिकले मोबाइल एपबाटै प्यान नम्बर लिनेसहित आफ्नो शैक्षिक विवरण हेर्ने, नागरिक लगानी कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सञ्चय कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, आफ्नो नागरिकता, राहदानी र मतदाता परिचयपत्रको विवरण हेर्ने काम गर्न सक्छन् ।

एपमा यी सेवासहित मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रजस्ता सरकारी सेवा थप गर्दै लैजाने सरकारको तयारी छ । सरकारले प्रदान गर्ने प्रायः सेवालाई डिजिटल प्रणालीमार्फत मोबाइल एपबाटै प्रदान गर्ने भन्दै एप सार्वजनिक भए पनि यसमा रहेको कमजोरीको आलोचना भइरहेको छ । सूचना प्रविधि क्षेत्रका विज्ञहरूले एपमा रहेका कमजोरी औंल्याएपछि गृह मन्त्रालयले त्रुटि सच्याउन कमजोरीको संकलन गर्न थालेको जनाएको छ ।

सरकारले सरकारी सेवा लिँदा नागरिकले भौतिक रूपमा अन्य कागजपत्र बुझाउन नपर्ने भन्दै यो एप सुरु गरेको हो । केन्द्र सरकारसहित स्थानीय सरकारले दिने ४० भन्दा बढी सेवासँग यसलाई जोड्ने सरकारको दाबी छ ।

कमेन्ट गर्नुहोस्