बाबिलले किन लिए फिल्मबाट ब्रेक ?

फिल्म । बलिउड अभिनेता बाबिल खानले फिल्म इन्डस्ट्रीबाट केही समयका लागि ब्रेक लिने घोषणा गरेका छन् । यो घोषणासँगै उनले निर्देशक साई राजेशको आगामी फिल्म पनि छाडेका छन् । यो खबरले उनको हालैको विवाद र भाइरल भिडियोसँग जोडिएर थप चर्चा बटुलेको छ ।

केही समयअघि बाबिलको एक भिडियो भाइरल भएको थियो, जसमा उनले फिल्म इन्डस्ट्रीलाई ‘फेक’ भनेका थिए । उक्त बयानको गलत अर्थ लगाइएको भन्दै बाबिलको टिमले सफाइ दिएको थियो । तर, यो विवादले फिल्मकर्मी साई राजेशलाई रिस उठाएको थियो । यही बीचमा बाबिलले फिल्मबाट ब्रेक लिने र साई राजेशको प्रोजेक्ट छाड्ने निर्णय गरेका हुन् ।

बाबिलले सामाजिक सञ्जालमा लेखे, ‘निकै हिम्मत र आपसी सम्मानका साथ मैले राजेश सरको जादुई यात्रामा कदम राखेको थिएँ । दुर्भाग्यवश, परिस्थिति यस्तो बन्यो कि हाम्रो योजना अनुसार हुन सकेन । म फिल्मबाट केही समय ब्रेक लिँदैछु । त्यसैले साई राजेश सर र उहाँको टिमलाई आगामी यात्राको शुभकामना दिन चाहन्छु । हामीबीच धेरै माया छ, र मलाई विश्वास छ, भविष्यमा हामी छिट्टै भेट्नेछौं ।’

स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिलले बुबाको निधनपछि बलिउडमा डेब्यू गरेका थिए । उनको यो निर्णयले फ्यानहरूमा कौतुहलता बढाएको छ भने बलिउडमा उनको आगामी कदमबारे चर्चा शुरू भएको छ ।

कमेन्ट गर्नुहोस्