धरानमा ‘अञ्जिला’ प्रिमियर

फिल्म । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्मको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको यो प्रिमियरले दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले चलचित्रको प्रतीक्षा गरिरहेका थिए ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यसमा अन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

फिल्म हेरेपछि दर्शकहरू भावुक बनेका थिए । हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी अन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । यसकी बाल कलाकार नमिक्षा मगरले अन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक फिल्म हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

यसको छायाङ्कन अन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन्‌ भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्