फिल्म । निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ फिल्म ‘लन्डन टु पेरिस’ मार्फत आउदैछन् । ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ जस्ता सोसल ड्रामा निर्देशन गरेका लामिछानेले यसपटक रमकम विधामा फिल्म तयार गरेका छन् । यसपटक उनको फिल्म मेकिङ विषयगत रुपमै अघिल्ला भन्दा वृहत छ ।
सरल कथा भन्न रुचाउने निर्देशक लामिछानेले यसपटक फिल्मको ‘क्यानभास’ ठूलो बनाएका छन् । लन्डनदेखि पेरिससम्मको यात्रा र प्रेम कथा देखाईएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्कासँगै डेब्यु कलाकार निश्चल खड्का र गरिमा शर्मा छन् । फिल्मको सार्वजनिक प्रचार सामग्रीले मेकिङ उच्च रहेको प्रस्ट्याउछ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञीको जोडी डेब्यु अभिनेता निश्चलसँग बाँधिएको छ ।
निर्देशक लामिछाने यसलाई अहिलेको पुस्ताको कथा भन्न रुचाउछन् । उनले भने,‘यस्तो मेकिङ्ग संवत अन्य नेपाली फिल्ममा देखिएको छैन, मैले त देखेको छैन । यो अहिलेको पुस्ताको प्रेम कथा हो ।’ उनले फिल्ममा युवापुस्ताले आफ्नो कथा भेट्नुका साथै दृश्यमार्फत आँखालाई शितलता प्राप्त हुने बताए । फिल्म प्रवासमा खिचिएता पनि कथावस्तु र परिवेश नेपालकै रहेको निर्देशक लामिछानेले बताए ।
‘यो लन्डनमा बस्ने नेपाली युवाको कथा हो । प्रवासमा बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो फिल्म बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु’, निर्देशक लामिछानेले भने ।
यद्यपि उनले फिल्म हेरिरहदा नेपाली स्वाद नै पाइने बताए । उनले भने, ‘पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । यसपटक अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका फिल्म हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई यो फिल्मले रिफ्रेस बनाउँछ ।’
उनले कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । ‘कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर पनि हामीले उनलाई लियौं । प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ’, उनले भने । उनले कथा अनुसार नै फिल्ममा ६ कलाकारले नै ‘लिड’ रहेको बताए । उनका अनुसार पर्दाको घटनाक्रमसँगै पात्रसँग दर्शक सहजै जोडिन्छन् ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
यसमा अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् । यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।