फिल्म । अभिनेता त्तहा निर्देशक विशारद बस्नेतको निधन शुक्रबार भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको निधन ३९ वर्षको उमेरमा साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा भएको बताइएको छ । निधन भएसंगै उनको अन्तेष्टी शुक्रबार बेलुकीनै पशुपति स्थित आर्यघाटमा गरिएको छ ।
भारतमा जन्मिएर लामो समय उतै काम गरेका विशारदले दुई नेपाली फिल्म निर्देशन गरेका छन् । ‘यता न उता’मा सह निर्देशन गरेका बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्म पनि निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका थिए ।
बस्नतेले मण्डला थियटरमा ‘क्लाउन एट वर्क’ शीर्षकको कार्यशाला सन्चालन गरेका थिए । बस्नेतले मण्डलाको प्रोडक्सन ‘बार दुर्वासा’मा अभिनय पनि गरेका थिए । ‘उहाँको योगदान नेपाली रंगमञ्चमा सधैं जीवित रहनेछ’, बस्नेतको निधनपछि मण्डला थियटरले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘भौतिक रुपमा हामीसँग नरहेपनि हामी वहाँलाई वहाँका कामहरु, सपनाहरु र जिजीविषाका लागि सधैं सम्झिरहनेछौं ।’










