निर्माताको ‘हिट’ दाबीप्रति युवराज लामाको व्यंग्य

फिल्म । पछिल्ला वर्षहरूमा नेपाली फिल्मको निर्माण लागत असामान्य रूपमा बढेको छ । सोही कारण नेपाली फिल्मलाई घरेलुबजारमा लगानी उठाउन असहजता बढ्दै गईरहेको छ । तीन करोड भन्दा माथि लगानी गर्दा निर्माता मारमा पर्ने गरेका छन् । यसै सन्दर्भमा फिल्म निर्माण, निर्देशन तथा कलाकारका रुपमा परिचित युवराज लामाले निर्माणमा अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनको बुझाइअनुसार, अहिलेको बजार अवस्थामा २ करोडदेखि अधिकतम साढे २ करोडभित्र फिल्म बनाउँदा लगानी सुरक्षित रहन सक्छ।

लामाले २०८२ को दशैंमा प्रदर्शन भएका तीन फिल्महरूले पनि ५ करोडको ग्रस कमाउन नसकेको सन्दर्भ जोड्दै निर्माताहरूको ‘हिट’ दाबीप्रति व्यंग्य गरेका छन् । उनको सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०८२ सालको दशैंमा प्रदर्शन भएका फिल्महरूको बक्स अफिस रिपोर्टले स्पष्ट देखाउँछ कि अहिलेसम्म कुनै पनि फिल्मले ५ करोडको ग्रस रेखा पार गर्न सकेका छैनन् । यद्यपि, सबै निर्माताहरूको दाबी एउटै सुन्निन्छ, फिल्म हिट भयो ।’

दसैँ लक्षित प्रदर्शनमा आएका तीन फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले पनि अपेक्षित लगानी फिर्ता गर्न नसक्ने अवस्था देखिएपछि अभिनेता तथा निर्माता लामाले औसत रूपमा फिल्म निर्माण र प्रदर्शन खर्च २ करोडदेखि अधिकतम २.५० करोडभित्र सीमित राख्न सकेमा लगानी सुरक्षित रहन सक्ने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्