अध्यक्ष लिङदेन भन्छन् ,’फिल्म प्रकाश झैँ राज्यले वर्गीय विभेद गरिरहेको छ’

फिल्म । गत भदौ १० देखि प्रदर्शनरत फिल्म ‘प्रकाश’ लाई अहिले राजनीतिज्ञले हेरिरहेका छन् । गगन थापा , रवीन्द्र मिश्र पश्चात फिल्मलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हेरेका छन् । वर्गीय विभेद , राजनीतिक भष्ट्राचार , प्रसासनिक भष्ट्राचार लगायतका विषयमा बनेको फिल्मले दर्शक मार्फत राम्रो प्रतिक्रिया बटुलिरहेको छ । देश परिवर्तनका निमित माओवादी युद्धमा ज्यान गुमाएको परिवारले गणतन्त्र आएपछि सामना गर्नु परिरहेको सामाजिक विभेद र अवसरका विषयमा बोलेको फिल्म ‘प्रकाश’ लाई अध्यक्ष लिङ्देनले बुधबार हेरेका छन् ।

उनले फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आफूले उठाउदै आइरहेको मुद्दालाई फिल्ममा हेर्न पाइएको बताए । ‘यस विषयमा मैले विगत देखि नै बोल्दै आएको छु । यसमा मास मिडियाको रुपमा हेरिने फिल्मले समेत आवाज उठाउँदा म खुशी भएको छु । भाषणले बुझाउन नसक्ने कतिपय तथ्यलाई फिल्मले बुझाउछ । फिल्म मार्फत देशको अवस्था र राजीतिक चेतना पनि दिनु पर्छ’ अध्यक्ष लिङदेनले भने ।

उनले राज्यले दिने अवसर वर्गीय , जातीय नभई निष्पक्ष हुनपर्नेमा जोड दिए । ‘राज्यले नागरिकलाई एक हिसावमा अवसर दिनु पर्छ । त्यहाँ वर्गीय , जातीय र पुजीय प्रभाव देखिनु हुँदैन । तर , विडम्बना अहिले राज्य व्यवस्थाले नजानिदो हिसावले वर्गीय विभेदलाई प्रोत्साहन गरिरहेको छ । त्यस्तालाई यो फिल्मले गतिलो पाठ सिकाउने छ’ उनले भने । उनले फिल्म आम दर्शकसँगै अहिले सत्तामा रहेका राजनीतिक दलले हेर्नु पर्ने बताए ।

दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।

समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्