फिल्म । वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोषकुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । निर्देशक श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । “सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,” श्रेष्ठले चलचित्रको कथाबारे बताए ।
यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् ।