कहिले चल्छ ‘एक्टर : टेक वन’?

फिल्म । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएपछि आजदेखि हले शो रोकेका छन् । मङ्गलवार अबेरसम्म फिल्मको शो राखेता पनि अदालतको आदेशको अवज्ञाको परिणामलाई बुझेर अन्तत कसैले फिल्म प्रदर्शन गर्ने आट देखाएनन् । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाउदै उक्त समयसम्म ‘एक्टर : टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि अल्पकालीन आदेश जारी गरेको छ ।

मङ्गलवार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासलेनिवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका अनुसार अदालतले प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिएको हो । यद्यपि त्यसअगाडि नै दुवै फिल्मका निर्माताले वार्ता गर्ने तयारी गरेका छन् । यद्यपि अदालतको प्रक्रियामा भएकाले शुक्रबार अगाडि फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ ।

कानूनका जानकारका अनुसार फिल्म ‘एक्टर:टेक वान’ निर्माण समूहले शुक्रबार पुनरावेदनका लागि पहल गर्न सक्नेछन् । त्यहाँबाट आदेश आएमा शुक्रबारदेखि फिल्म प्रदर्शन हुनसक्ने छ । यद्यपि त्यसअगाडि फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ ।

फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो । नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्