‘पूर्णबहादुरको सारंगी २’ प्रति निर्देशकको असन्तुष्टी

फिल्म । नेपाली फिल्मको इतिहासमा हालसम्म सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ, ‘पूर्णबहादुरको सारंगी’ । तर, यो फिल्मले जति सफलता प्राप्त गरेको छ, त्यति नै विवाद सिर्जना पनि गरेको छ । फिल्मका निर्माता बीच दुरी बढाएको छ । अर्थात् ‘पूर्णबहादुरको सारंगी २’ घोषणा निर्माता मध्येका एक विनोद पौडेलले मात्र गरे । अन्य तीन निर्माता रामबाबु गुरुङ, प्याट्रिक सुवेदी र रमेश ढकाल अलग भएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म लग्ने भन्दै खोलिएको ‘सेभेन सिज इन्टरटेनमेन्ट’ मा पनि फुट आयो । फलत: प्याट्रिक र रमेश एकातीर हुँदा विनोद अर्को तीर भए । केही विवाद सल्टाएर घोषणा गरिएको ‘पूर्णबहादुरको सारंगी’ को सिक्वेलमा निर्देशक सरोज पौडेलले असन्तुष्टी व्यक्त गरेका छन् । उनले निर्माण पक्षले आफूसँग सल्लाह नगरी घोषणा गरिएको भन्दै कमाइ खाने भाडो नबनाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

‘मेरो स्टोरी र आइडियामा बनेको पूर्णबहादुरको सारंगीलाई तन्काउनु आवश्यक नठानेर मैले नयाँ नामबाट कथा भन्दैछु । मैले सिर्जना गरेको कथा र पात्रलाई तन्काएर व्यापार नगरियोस भन्ने मेरो अनुरोध छ । आवश्यक प्रक्रिया पुर्याएर मात्र फिल्म निर्माण गर्नुहोला’, निर्देशक पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

फिल्मको केहि दिन अगाडि आयोजना गरिएको सक्सेस पार्टी र ‘पूर्णबहादुरको सारंगी २’ निर्माणको औपचारिक घोषणामा निर्देशक पौडेल पनि सहभागी थिए । तर, पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति जनाउँदै सिक्वेललाई अनावश्यक रूपमा तन्काएर व्यावसायिक उद्देश्य राख्न नहुने धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस्