‘वरिष्ठ बलराम’ को ट्रेलरमा दयासँग विजयको टकराव

फिल्म । अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गते प्रदर्शन हुने उक्त फिल्ममा ‘कबड्डी’ सिरिजका जोडी दयाले वरिष्ठ र विजयले बलरामको भूमिका निर्वाह गरेका छन् ।

दयाले ‘लूट’ बाटै आफूलाई अब्बल कलाकारका रुपमा सावित गरेर सधै चर्चामा रहे भने विजयले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत आफ्नो लोकप्रियता प्रमाणित गरिसकेका छन् । सोही कारण आगामी फिल्म ‘वरिष्ठ बलराम’ का प्रचार सामग्रीहरूमा दयाहाङ र विजयले बराबर स्थान पाएका छन् । दयासँगै अभिनय सिकेर रङ्गमंच र फिल्ममा उदाएका विजयले बराबर भूमिका पाउनु उनका लागि पनि अवसर हो ।

निर्माण पक्षले दयाहाङ र विजयबीचको नोकझोक र द्वन्द्वलाई सार्वजनिक ट्रेलरमा देखाएको छ । यो जोडीको रमाइलो केमेस्ट्रीले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा बनेको फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्