फिल्म । उमेरले ६० कटेपनि कलाकार किरण केसीको कामलाई नियाल्ने हो भने आधा उमेर कम छन् । पछिल्लो समय फिल्म ‘शत्रु गते’ मार्फत मह जोडीसँग निर्माणमा कमब्याक गरेका किरणले त्यसपछि मह जोडीसँगै ‘दाल भात तरकारी’ निर्माण गरे । यतिबेला आउँदो चैत्र २१ मा ‘लक्का जवान’ लिएर आउने तयारीमा रहेका किरणको स्फुर्तीको चर्चा नगर्ने सायदै होलान् । उनले काम गर्ने शैलीले सँगै रहेकोलाई पनि एक्टिभ राख्न मदत गर्छ । अघिल्लो दुइ फिल्म शत्रु गते र दाल भात तरकारीमा निर्माताको सम्पूर्ण दायित्व बहन गरेका किरणले ‘लक्का जवान’ मा पनि यस्तै गरेका छन् । ‘किरण अंकललाई देख्दा हाम्रो जोस जाँगर त केहि हैन जस्तो लाग्यो’ सलोन बस्नेतले फिल्मकै पछिल्लो एक इभेन्टमा भनेका थिए ।
‘त त सार्है बिग्रिस नि बद्रि’ मा सलोनले बाल्यकलाकारको रुपमा किरणसँग काम गरेका थिए । त्यसपछि ‘लक्का जवान’ यी दुइसंगै छन् । किरणको प्रसंसा नगर्ने सायदै कोहि होलान् । कामलाई फत्ते गर्न लागिपर्ने किरणले यी सबैको कारण आफ्नो सकारात्मक सोच रहेको बताउने गरेका छन् । ‘सकारात्मक सोचले उर्जा दिन्छ’ किरण भन्छन् । उनले सबैको हित सोच्ने र बिहान योगा गर्ने पनि बताए । ‘काम गर्न कहिले पनि पछी हट्नु हुदैन त्यसले तपाइलाई एक्टिभ गर्छ’ उनले भन्ने गर्छन् । फिल्म सार्वजनिक कार्यक्रममा पनि सबैले किरणलाई ‘लक्का जवान’ को टाइटल दिए । फिल्मले दर्शकलाई पूर्ण मनोरंजन दिनेमा किरण विश्वस्त छन् । फिल्म पूर्ण मनोरञ्जनात्मक प्याकेज हो । यसलाई स-परिवारसंगै गएर हेर्न मिल्छ । मेरी बास्सै, तीतो सत्य, जीरेखुर्सानी सिरियलमार्फत जनमानसको मनमा बसेका कलाकारहरू मिलेर बनाएको यो फिल्म विशेष बनेको छ’ किरणले भने ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लक्का जवान’ को टाइटल गीत सार्वजनिक गरिएको हो । हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्ममा किरण र शिवहरीसंगै राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायत कलाकारहरु छन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।











