‘बगान एकल आमाको सशक्त आवाज बनेको छ’ : उपसभामुख राना

फिल्म । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली फिल्म ‘बगान’ ले समाजको सोच परिवर्तन गर्ने बताएकी छिन् । बुधवार काठमाडौँमा आयोजित प्रिमियरमा सहभागी भएकी उपसभामुख रानाले आफू पनि एकल आमा भएकाले आफ्नै कथा पर्दामा देखिए झैँ महसुश भएको बताइन । फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले समाज परिवर्तनमा महिलालाई पुरुषले साथ् दिनुपर्ने विचार राखिन् ।

‘एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई जीवन्त प्रस्तुत गरिएको छ । सबै कलाकारले राम्रो काम गरेका छन्’,उपसभामुख रानाले भनिन्,’अव्यक्त भावनालाई समाजसम्म ल्याउने काम बगानले गरेको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई पर्दामा देखिएको छ ।’ प्रिमियरमा ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए ।

अभिनेत्री करिश्मा मानन्धरले कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन । फिल्ममा आमाको भूमिकामा प्रस्तुत भएकी करिश्माले आफ्नो जीवनका केहि कथासमेत जोडिएको बताइन । ‘मेरो बाल्यकाल र आमाको संघर्षसँग फिल्म जोडिएको छ । हामीले आफू भएर बाच्न नसक्नुको कारण र हाम्रो जीवनमा शिक्षाको महत्वलाई समेत देखाएका छौं’, करिश्माले भनिन् ।

यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै फिल्मकर्मी बन्दा केहि नर्भससमेत रहेको बताइन् । ‘हिम्मत नै जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरें । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु’, अभिनेत्री कार्कीले भनिन्,’मेरो काम पर्दामार्फत नै बोल्दा निकै खुशी छ । समाजमा रहेका कुरीतिको विरुद्ध बाहिरी जीवनमा पनि आवाज उठाउने भएकाले पात्रसँग सहजै कनेक्ट भएँ ।’

यसका निर्माता तथा गीतकार सुरेश वाग्लेले कथालाई अगाडी बढाउन गीतले भूमिका खेलेको बताए । ‘मैले फिल्म सम्पादनमै पनि हेरिसकेको थिएँ । तर, प्रिमियरमा हेर्दा पाइरहेको प्रतिक्रियाले निर्माताको रुपमा एउटा सर्जकको दायित्व निर्वाह गर्न सफल भएको जस्तो लागेको छ । किनकि हामीले मनोरञ्जनसँगै सामाजिक विषयलाई समेत पर्दामा ल्याएका छौं ।’

तीन दशकको अभिनयको अनुभव संगाल्दै निर्देशक बनेका सरोज खनालले आफू कथावाचक रहेको बताए । उनले भने,’मैले कथा र पात्रलाई भेटाएको मात्र हुँ । काम उहाँहरूले नै गर्नुभएको हो । म आफूले जानेर कहिले पनि परिवारका महिला सदस्यलाई चोट पुर्याउदिन । त्यसैले पनि यो कथालाई पर्दासम्म ल्याएको हुँ ।’

फिल्ममा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् । स्वप्निल नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रंग संयोजन गर्नुभएको छ । असार २९ गतेबाट प्रदर्शन हुने चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्