फिल्म । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको बाढीपहिरो पिडितका लागि सहयोगमा जुट्न आग्रह गरेकी छिन् । ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ?’ सामाजिक सञ्जाल मार्फत उनले यस्तो लेख्दै सहयोगमा हात अगाडी बढाउन आग्रह गरेकी छिन् ।
आउँदो शुक्रबार आफुहरु सहयोग सामग्री लिएर सिन्धुपाल्चोक जाने जनाउदै उनले सहयोगका लागि अपिल गर्दै अगाडी सरेकी छिन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको भिषण बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । केहीको ज्यान गुमेको छ भने केही अलपत्र परेका छन् ।
श्वेतासंगै अभियानमा केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।