संगीत । गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो भ्वाईस अफ नेपाल दोस्रो सिजनको कोच सार्वजनिक गरिएको छ । नयाँ सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् ।
पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । भने , रक गायिका अभया सुब्बालाई हटाएर उनको ठाउँमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ ।

आस्था करिब एक दशकदेखि नेपाली संगीत क्षेत्रमा छिन् । ‘भ्वाईस अफ नेपालको कतारमा सम्पन्न फाईनल कार्यक्रमलाई वेवास्ता गर्दै अभयाजी अन्य देशमा कन्सर्टका लागि जानु भयो ’ आयोजक कमिटीका एक सदस्यले भ्वाईस कार्यक्रमको केही नियमहरु तोडेकाले उनलाई कोचबाट निकालिएको एक आयोजकले बताए ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर गर्दै दुई जना कोच परिवर्तन गरिएको जानकारी दिईयो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ ।










