‘समाज जोड्ने फिल्मको सङ्ख्या बढ्नु पर्छ’ : अर्थमन्त्री पुन

फिल्म । अर्थमन्त्री वर्षमान पुनले नेपाली फिल्मले समाजलाई जोड्ने बताएका छन् । शनिवार काठमाडौँस्थित टुँडिखेलमा भूमे पर्वको शुभारम्भ समारोहमा सहभागी भएका मन्त्री पुनले अभिनेता दयाहाङ राईको कामको तारिफ गर्दै आउँदा दिनमा पनि सामाजिक फिल्ममा देख्ने अपेक्षा गरे । उनले भने,‘विभिन्न समुदायको फिल्ममा देखिरहेको छु । अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने सिनेमामा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ ।’

‘घरज्वाइँ’ निर्माण टिमले प्रचारप्रसारको सुरुवात असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेबाट थालेको निर्माता जनक घर्तीमगरले बताए । उक्त समारोहमा मन्त्री पुन र अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत सहभागी थिए ।

अभिनेता राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । ‘म भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन बाँच्न पाएँ । फिल्म मगर समुदायमा आधारित भएतापनि सम्पुर्ण नेपाली दर्शकलाई मन पर्छ’, अभिनेता राईले भने ।

अभिनेत्री मगरले आफु विदेशमा हुर्किएकाले मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्ने मौका फिल्मले दिएको बताइन। ‘म पूर्वेली भएपनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो । यो अवसर ‘घरज्वाइँ’ले जुरायो’, उनले भनिन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल बुढा मगरले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् । फिल्म जनक घर्तीमगरको लगानीमा निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्