अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सह-संयोजक र पदाधिकारीहरुलाई नयाँ कार्यकालको लागि जिम्मेवारी दिएको हो । महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै नेपाली फिल्ममा योगदान पुर्याउने कलाकारहरू शिव श्रेष्ठ, भुवन के.सी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई ‘इनास विशिष्ट कलाकारिता सम्मान’ द्वारा सम्मान गरियो ।
सोही अवसरमा इनासद्वारा आयोजित दोस्रो अनलाईन नृत्य एवम् गायन प्रतियोगिताका विजयीलाई नगद क्रमशः रू १ लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरियो । नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रवर्धनका साथै नेपाली फिल्मको विश्वव्यापी बजार बिस्तारमा क्रियाशील इनासले नेपालमा परेको विपतिमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियो समेत प्रस्तुत गरिएको कार्यक्रममा चलचित्र विकास बोर्ड्का अध्यक्ष दयाराम दाहाल , एनआरएनका अध्यक्ष कुमार पन्त , कलाकर्मी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।











