फिल्म । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को प्रचारप्रसारलाई तीव्र पार्न मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ । प्रदर्शन मिति नजिकिँदै गएसँगै फिल्मलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले प्रचार अभियानलाई तीव्र बनाइएको निर्माण पक्षले जनाएको छ ।
पोखरा पुगेको टोलीमा अभिनेत्री विपना थापा, अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल तथा फिल्मका कार्यकारी निर्माता करण सिंह सहभागी छन् । पोखरा पुगेसँगै निर्माण टिमले प्रेस मिट आयोजना गरेको कार्यकारी निर्माता करणले जानकारी दिए । यसअघि सोमबार फिल्मले केन्द्रीय फिल्म जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको थियो, जसअनुसार अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
फिल्मका निर्देशक चन्द्र पन्तले प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन भारतबाट आएका अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत सक्रिय रूपमा जुटिरहेको जानकारी दिए । उनका अनुसार नेपालमै रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिमरन पन्त पनि प्रचार अभियानमा उत्तिकै सक्रिय छन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा तयार भएको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गीतका भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । फिल्मको छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको हो ।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजर साहिल खानले तयार परेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।










