आर्यनलाई ‘अर्जुन रेड्डी’ को प्रश्न

फिल्म । केहि समय यता नेपालमा ‘अर्जुन रेड्डी’ को रिमेक बन्ने चर्चा बढ्दो छ । नयाँ टिम अनि नयाँ कन्सेप्ट ‘सन्की डाक्टरको प्रेम कथा’मा बनेको फिल्म ‘अर्जुन रेड्डी’ लाई दर्शकले धेरै रुचाए । सन्दीप वांगा रेड्डीको निर्देशनमा निर्मित फिल्मले तेलगु भाषामा मात्र नभई बलिउडमा समेत धमाल मचायो । शाहिद कपूरको ढल्दो करियरलाई माथि ल्याएर स्टारडम बढाउने काम गर्यो । बलिउडमा ‘कबिर सिंह’ बनिसकेपछि तामिलमा पनि फिल्म ‘आदित्य वर्मा’ आइसकेको छ । यसै फिल्म मार्फत चियान विक्रमका छोरा ध्रुव विक्रमले डेब्यु गरेकाछन् । अब यो नेपाली भाषामा पनि बन्ने भएको छ ।

नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले ‘अर्जुन रेड्डी’ लाई नेपालीमा बनाउने अधिकार खरिद गरिसकेको छ । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा फिल्म बन्ने चर्चा भएसंगै यसमा कसले अभिनय गर्लान त ? भन्ने चर्चा सुरु भएको छ । चर्चासंगै आर्यन सिग्देलको नाम अगाडी आएको छ । यद्दपी उनले सामाजिक सञ्जाल मार्फत फिल्मको टिमसंग कुरा नभएको बताएका छन् । तर उनलाई यो प्रश्नले छाडेको भने छैन । ‘सेल्फी किङ्ग’ को प्रिमियरमा सहभागी हुन् पुगेका आर्यनले यो प्रश्नको सामना गर्नु पर्यो । उनलाई अर्जुन रेड्डी गर्ने लागेको भन्ने प्रश्न धेरैले सोधे । किनकी फिल्म निर्देशनको जिम्मा पाएका विशाल सापकोटा आर्यनका भाइ जतिकै छन् । यसैले गर्दा पनि आर्यनलाई अड्कल काढ्नु स्वाभाविक नै हो । त्यसो त आर्यन देखिएको लुक्स पनि त्यस्तै थ्यो । उनि दाह्रीमा देखिएका थिए । उनलाई हेर्दा झट्ट कबिर सिंह वा अर्जुन रेड्डीको झल्को आउने किसिमको थ्यो । यद्दपी अर्जुन रेड्डीको नेपालमा रिमेक बन्ने चर्चा चलेको धेरै भइसकेको छ । साउथमा अर्जुन रेड्डी हिट हुदै गर्दा यसलाई नेपालमा बनाउने प्रस्ताव विशाल सापकोटाले ल्याएका थिए । ‘कबिर सिंह’ बन्नु अगाडी नै उनले आर्यनलाई लिएर फिल्म बनाउने पहल नगरेका हैनन् तर विविध कारणले प्रोजेक्ट अगाडी बढ्न सकेन । यसैले पनि यतिबेला ‘अर्जुन रेड्डी’ को रिमेकको चर्चा हुँदा आर्यनको नाम अगाडी आउनु स्वाभाविक नै हो ।

कमेन्ट गर्नुहोस्