फिल्म । नेपालमा व्यापारको मामलामा ऐतिहासिक कमाई गरिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विवाद भने अछुतो बन्न सकेको छैन् । यसलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् ।
रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीका अनुसार लेखक लामिछानेमार्फत प्राप्त भएको निवेदन अनुसार यसलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । अधिकारीका अनुसार अजितले यसअघि ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’ कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।
यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए । विजय बराल, अन्जना बराईली लगायतको अभिनय रहेको फिल्मलाई विनोद पौडेल, प्याट्रिक सुवेदी लगायतले निर्माण गरेका हुन् ।










