‘झरीपछिको इन्द्रेणी’ मा बालेनको आवाज

फिल्म । बालेन शाहको आवाजमा रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त गीत आइतबार बेलुका बालेनकै आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा रूपान्तरण गर्दै गीत तयार गरिएको छ । गीतको र्‍याप गायन र लिरिक्स बालेनकै रहेको छ भने दीक्षा उप्रेतीको कोरस गायन समावेश छ । बालेनले यो गीत हालै दिवंगत आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन् ।

गीतको मौलिक संगीत रञ्जित गजमेरको हो भने मूल स्वर रविन शर्माको रहेको छ । भिडियोमा फिल्मका विभिन्न दृश्यहरू समावेश गरिएको छ । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

यसअघि बालेनकै युट्युब च्यानलमा सार्वजनिक गरिएको यही फिल्मको गीत ‘फसायो लमीले’ भने हाल उक्त च्यानलबाट हटाएर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्