फिल्म । अभिनेत्री अञ्जना बराइलीको पहिलो चलचित्र ‘महापुरुष’ हो । पहिलो चलचित्रमा अडिसनमार्फत छानिएकी अञ्जनाले ‘पुजार सार्की’को छनोट पनि अडिसनबाटै दिनुपर्यो । यो अडिसन भने ‘क्यारेक्टर अडिसन’ थियो । त्यसो त निर्देशक दिनेश राउतका हरेक चलचित्रमा स्थापित कलाकारले पनि क्यारेक्टर अडिसन दिने गर्छन् । त्यसको जल्दो बल्दो उदाहरण चलचित्र ‘प्रकाश’को लागि अभिनेता प्रदीप खड्काले दिएको अडिसन हो ।
गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे । अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबिच पहिलो पटक कुराकानी भएको थियो । चर्चित गीत ‘घुमी घुमी’मा अञ्जनाले गरेको अभिनय हेरेर दिनेशले ‘पुजार सार्की’का उनलाई कास्ट गर्ने सोच बनाएर कुरा अघि बढाएका थिए ।
‘तिहारको पर्सिपल्ट उहाँलाई फोन गरेँ। उहाँले हामी एउटा चलचित्र बनाउँदै छौँ । चलचित्रको कथा अनुसार एउटा क्यारेक्टरमा तिमी ठिक हुन्छौ कि भनेर कुरा गर्न खोजेको भन्नुभयो। त्यसपछि भेटेरै गफ गर्ने कुराकानी भएपछि त्यसको भोलिपल्ट लेखक बिकास सुवेदी दाइ, दिनेश सर, निर्माता सुवास भुसाल र म भेट्यौँ। त्यो भेटमा बिकास दाइले कथा सुनाउने बित्तिकै पुजार सार्की वास्तविकतामा आधारित भएकाले मैयाँको चरित्र मैले गर्न पाए हुन्थ्यो जस्तो लाग्यो’, अञ्जनाले भनिन् ।
त्यसपछि अञ्जनाले आफूलाई भनिएको क्यारेक्टर डिजाइन अनुसार मैयाँ पात्रका लागि अडिसन दिइन् । अभिनयसँगै लुक टेस्टको पनि कुरा आएपछि उनले दुई पटक लुक टेस्ट दिइन् । चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन् । आर्यन उनको सानै देखिको ‘क्रस’ हुन् । आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उनलाई उत्तिकै डर भएको थियो ।
‘मैले धेरै चलचित्रमा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ । अझ मेरो जोडी म भन्दा अग्रज हुनुहुन्छ । आर्यन दाइले तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो । मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन। यस्तै हुन्छ भनेर ढाडस दिनुहुन्थ्यो । सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन’, उनले भनिन् ।
उनले चलचित्रमा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन् । उनी समाजले ठुलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ ।
अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो । त्यही भएर उनले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहन्थिन् । चलचित्रको चरित्र भन्दा पनि अञ्जना भएर हेर्दा उनलाई ‘मलाई किन यस्तो भूमिका दिइयो ? भन्ने मनमा लाग्थ्यो, हल्का रिस पनि उठेको थियो ।
अञ्जनाले यो चलचित्रमा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन् । तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन् । ‘स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ । स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो । स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो’, उनले भनिन् ।
अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ । यसमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।