पात्रलाई जीवन्त बनाउने सौगात

फिल्म । नेपाली फिल्ममा सौगात मल्लले आफ्नो छुटै पहिचान स्थापित गरेका छन् । हिरोको जगजगी रहेकै समयमा पात्रलाई समाजसँग जोड्ने भूमिका निर्वाह गरेका अभिनेता मल्ललाई दर्शकले ‘हाकु काले’ उपनाम समेत दिएका छन् । आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुँदै गर्दै अभिनेता मल्लले एउटा पात्रलाई बाच्न तौल घटबढ गरेका छन् ।

सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो सुनिने समयमा अभिनेता मल्लले अभिनय गरेको ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि बीस केजी तौल घटाएर बढाएका छन् ।

‘पात्रबारे बुझेरै मैले यसको तयारी तीन/चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ’, अभिनेता मल्लले भने, ‘तौल घटेको दृश्य सकेर बढेको भागको छायांकन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।’ उनले तौल घटाउने समयमा खानपानमा विशेष ध्यान दिए । उनको खान्की कम हुँदै गर्दा पनि काम भने गरिरहेका थिए ।

उनको काम प्रतिको लगावको चर्चा सिनेम्याटोग्राफर संजय लामा र निर्देशक सौरभ चौधरीले तारिफ गरिरहेका छन् । अभिनेता मल्लले आफूले पात्रलाई रमाइलोसँग निर्वाह गर्ने गरेको बताए ।

‘मलाई पात्र बाच्दा अन्य कुराहरूको बारेमा धेरै ध्यान हुदैन । मैले रमाइलो गर्दै उक्त भूमिका निर्वाह गरेको थिएँ । सबैले मलाई भनेपछि आफूले गरेछु जस्तो लाग्छ’, अभिनेता मल्लले भने । उनले पर्दामा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिए ।

निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिए । ‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइनेछ’, निर्देशक चौधरीले भने ।

फिल्ममा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्