‘आ बाट आमा २’को टिजरलाई दर्शकको साथ

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा २’को टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको टिजरले २१ घण्टामै १३ लाखभन्दा बढी भ्युज पाएको छ। यस्तै, टिजरमा ५ हजार २ सयभन्दा बढी प्रतिक्रिया आएका छन्।

टिजरमा अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। पल शाहको क्रेजलाई लिएर पनि धेरै दर्शकले प्रतिक्रिया जनाएका छन्। टिजरमा आएका करिब ५ हजार ३ सय प्रतिक्रियामध्ये अधिकांश सकारात्मक रहेको देखिन्छ। दर्शकको प्रतिक्रियाले फिल्मप्रतिको चासो र प्रतीक्षालाई समेत देखाएको छ।

३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा कृष्णको भूमिकामा रहेका पल शाहले मलिका महतलाई बोकेर हिँडेको देखाइएको छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले ‘जिन्दगीभर मलिकालाई बोकेर हिँड्छु’ भन्ने संवादले दर्शकको ध्यान खिचेको छ।

यस्तै, घरमा रहेकी आमा अर्थात् विपना थापालाई केही भयो कि भन्ने चिन्तामा कृष्णको हस्याङफस्याङलाई पनि टिजरमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। टिजरमा दसैँको परिवेश, आमाको प्रतीक्षा र पारिवारिक संवेदनालाई केन्द्रमा राखिएको छ।

‘दसैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषयवस्तु बनाइएको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मका लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद रोशन भट्टले लेखेका छन्। करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, डिओपी बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

कमेन्ट गर्नुहोस्