फिल्म । पछिल्लो समय फिल्म ‘प्रकाश’ हेर्न नेताहरु हल पुगिरहेका छन् । माओवादी युद्ध पश्चात एक परिवारमा पर्ने प्रभावलाई देखाइएको फिल्म ‘प्रकाश’ हेर्दा पटक-पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । उनले मंगलबार हेरेर आफू पटकपटक भावुक बनेको बताए ।
‘यथार्थलाई पर्दामा देख्न पाए । बहुदलीय व्यवस्थाको पुनस्थापनपछि मुलुकले जे भोग्नुपर्यो राजनीतिक नारामा, परिवर्तनको नारामा, क्रान्तिकारी रुपान्तरणको नारामा, जे भोग्न पर्यो त्यो भोगाइको एउटा पाटो, सानो अंश यसले देखाएको छ । त्यस हिसाबले यो मलाई एकदमै मन पर्यो’ नेता पोखरेलले भने । उनले नयाँ सम्भावनासँग जोडिएको विकृति विसंगतिको परिणाम अहिले भोगिरहेको बताए ।
उनले थपे, ‘जनयुद्धको नाममा, परिवर्तनको नाममा जे चीज भयो, अहिले त्यसको कस्तो असर भोग्दैछन् त नेपाली जनताले।’ पोखरेलले समाजमै भएका विषयवस्तुलाई सशक्त ढंगले फिल्ममा उतारेको भन्दै लेखक र निर्देशकको प्रशंसा गरे । यस्तै उनले कलाकारहरुको अभिनय आफूलाई उत्कृष्ट लागेको समेत बताए ।
दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।
समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ










