पोखरामा प्रकाश : समाजसँग जोडिएको कथा

फिल्म । अभिनेता प्रदीप खड्काको अभिव्यक्ति पछिल्लो समय फेरिएको छ । अघिल्लो फिल्महरुमा सुनिने प्रदीप अहिले फरक छन् । ‘प्रकाश’ बनेपछि उनी आएको फरकपनलाई अहिले सञ्चारकर्मीले समेत महसुश गरिरहेका छन् । फिल्मको प्रचारप्रसारका लागि पोखरा पुगेका यी अभिनेताले ‘प्रकाश’ समाजको यथार्थ रहेको बताए । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूमा आएको बदलाव सुनाए ।

‘फिल्मले मलाई कलाकारिता हेर्ने र बुझ्ने शैलीलाई फरक ढंगले महसुश गराएको छ । यो जुम्लामा सेटअप भएको कथा भएता पनि यसको भावले हरेक स्थान र गाउँ , समाजलाई जोड्छ’ प्रदीपले भने । दश वर्षे माओवादी द्वन्द्व पश्चात सोचिएको परिवर्तन देशका अधिकाँस भूभागमा महसुश नभएको उनले बुझेका छन् । उनले आफ्नो अर्गानिक कथाहरुलाई विस्तारै भन्नु पर्नेमा जोड दिए ।

‘हाम्रो कथालाई हामीले नै भन्नु पर्छ । धेरै दर्शक समक्ष पुर्याउनु पर्छ । किनकी द्वन्द्वले परिवार र गाउँ , समाजमा [पारेको असर फरकफरक छन्’ उनले भने । उनीसँगै फिल्म प्रचारप्रसारका निमित पोखरा पुगेकी दीया मास्केले आफ्नो चरित्र प्रतिनिधि पात्रको रुपमा चित्रण गरिन् । ‘श्रीमान् नभएकी एकल महिलाले भोग्ने पिडा , समाजले हेर्ने दृष्टिकोण र शिक्षित छोराको संघर्षलाई हेरिरहेकी आमाको भूमिका प्रतिनिधि पात्र हुन्’ उनले भनिन् ।

निर्देशक दिनेश राउतले ‘प्रकाश’ समाजसँग जोडिएको फिल्मको रुपमा चित्रण गरे । ‘हाम्रो कथाहरु छन् , जसलाई धेरै दर्शकसम्म पुर्याउनु पर्छ । त्यस मध्येकै एक हो प्रकाश’ निर्देशक राउतले भने । उनले फिल्म हेरीरहदा दर्शकले कथालाई महसुश गर्ने बताए । ‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीप यसपटक प्रकाश बनेका छन् ।अघिल्लो फिल्महरुमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका उनले यसपटक भने आफूलाई परिवर्तन गरेका छन् ।

स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । फिल्ममा अभिनय गर्न भनौँ वा प्रकाश बन्न उनले डेब्यु कलाकार झैँ संघर्ष गरेका छन् । उनले क्यारेक्टरको लागि अडिसन दिए , क्यारेक्टर बाच्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । किनकि उनलाई कथा मन परेको थियो ।

फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी , राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्