फिल्म । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले यी दुवै देशको वितरण अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ । चन्द्र पन्तको निर्देशन, कथा र पटकथामा बन्न लागेको यो फिल्मको विदेशमा माग बढ्दै गएको छ । मातृत्वको संवेदनशील कथावस्तु प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार ‘सोल्ड आउट’ भएको निर्माण पक्षले बताएको छ ।
अन्य देशहरूमा पनि प्रदर्शन अधिकारबारे छलफल भइरहेको र चाँडै थप जानकारी सार्वजनिक गरिने निर्देशक पन्तले उल्लेख गरे । उनका अनुसार, फिल्म निर्माण सम्पन्न भएपछि यसको माग विदेशमा थप बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फिल्मको लोकप्रियता नेपालमा मात्र नभई विदेशमा पनि उल्लेखनीय रूपमा बढेको छ ।
यो फिल्मको चर्चा अभिनेता पल शाह र ‘टिकटक क्विन’ को रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि बढाएको छ । फिल्ममा पल शाह र उषा उप्रेतीसँगै सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको अभिनय रहनेछ । यी कलाकारहरू फिल्मका लागि अन्तिम छनोट भइसकेका छन् ।
यही महिनाबाट छायांकन सुरु हुने यो फिल्मका बाँकी कलाकार र प्राविधिक छनोटको काम जारी छ, जुन चाँडै टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ । फिल्मको नेपाल वितरण अधिकार आरआर फिल्म्सले खरिद गरेको छ । यो फिल्म २०८२ फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।











