‘डिग्री माइला’ को शिर्ष गीत सार्वजनिक

फिल्म । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा बाहिरिने भएकाले प्रचारप्रसारका लागि फिल्मकै अन्य दृश्यलाई प्रयोग गरिएको छ । गीतमा स्वप्निल स्मृतिको शब्द, झुमा लिम्बूको सङ्गीत र पवन गिरीको स्वर रहेको छ । यो गीतले फिल्मको कथासार व्यक्त गरेको छ ।

यस्तै, फिल्मलाई दर्शकले रुचाएका छन् । नयाँ वर्षको अवसर पारेर चैत ३० गतेदेखि रिलिज गरिएको फिल्मको विषयमा प्रतिक्रिया लिन अभिनेता दयाहाङ राई, विजय बराल, कमलमणि नेपाल, अभिनेत्री आँचल शर्मा, निर्माता मणिराम पोखरेलसहितको टिम विभिन्न हलमा पुगिरहेको छ । शनिवार काठमाडौँ उपत्यकाका सम्पूर्ण शो भरिभराउ छन् ।

देशभरका हलमा उच्च शोसहित रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ हेरेका दर्शकले रुचाएको अभिनेता राईले बताए । दयासँगै रहेकी अभिनेत्री शर्माले हल भ्रमणका क्रममा पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन ।

फिल्ममा बुद्धि तामाङ, प्रकाश घिमिरे, अनिल सुब्बा, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ ।

कमेन्ट गर्नुहोस्