फिल्म । कतारमा जारी विश्वकप फुटवल सिनेमाघरमा देखाउने विषयमा विवाद उत्पन्न भएको छ । सिनेमाघरले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै सचेत गरायो । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी समेत दिए ।‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम फिल्ममात्र प्रदर्शन गर्न भन्दै विज्ञाप्ति नै जारी गरियो । बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दियो ।
यद्दपि सार्वजनिक इमेलमा बोर्ड आफैंले अनुमति दिएको पाइएको छ । बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरुलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्म सरह प्रदर्शन गर्नको लागि कोडसहितको मेल गरेका थिए । जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभी कोड प्रयोग गर्न आग्रह गरेका छन् ।चलचित्र संघले बोर्डको यो कार्यप्रति आपत्ति व्यक्त गरेको छ । संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन अवज्ञा गर्दै फुटबल देखाउन इच्छुक फिल्म हललाई आग्रह गरे । पछिल्लो समय बोर्ड र संघबीच सेन्सर र रात्रि शोको व्यवस्थापनलाई लिएर तनाव जारी रहँदा फुटबलले थप तनाव थपेको छ ।










