फिल्म । नेपालमा गत दसैँमा प्रदर्शन भएको फिल्म ‘ज्वाइँ साब’ को अस्ट्रेलिया प्रदर्शन सिड्नीबाट सुरू हुने भएको छ । वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म यही नोभेम्बर २२ मा सिड्नीको हर्स्टभिलमा रहेको सिभिक थियटरमा प्रदर्शन हुने आयोजक पाल्पा सर्भिसेसका दिनेश श्रेष्ठले बताएका छन् । नेपालमा राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘ज्वाइँ साब’ ले व्यावसायिक सफलता पनि हात पारेको थियो ।
दर्शकको मागकै कारण सिड्नीबाट प्रदर्शन आरम्भ गरिएको श्रेष्ठले जानकारी दिए । उनले भने,‘यो फिल्मको सामाजिक सञ्जालमा भएको चर्चाकै कारण माग देखिएको हो । हामीले नोभेम्बर २२ बाट सुरू गर्दैछौँ । अन्य शो र स्थान भने अहिले टुङ्गो लागेको छैन ।’
नोभेम्बर २२ मा साँझ ६ बजेर ३० मिनेटमा हुने शोमा सहभागी हुन् अस्ट्रेलियन २५ डलरको टिकेट खरिद गर्नुपर्ने हुन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् । फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
यो लिंकमा क्लिक गरेर टिकेट खरिद गर्न सक्नु हुनेछ ।









