रियल वारियर रितेश : जसले युद्धको मैदान र जीवनसँग कहिले हार मानेनन्

फिल्म । नेपालीलाई विश्वमै वीर गोर्खाली भनेर चिन्ने गरिन्छ । किनकी नेपालीले कोरेको वीरताको गाथा विश्वभर लोकप्रिय छ । यस्तै, वीरता प्रस्तुत गरेका छन् रितेश चाम्सले । गत फागुन ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘गोर्खा वारियर’ का अभिनेताको रुपमा परिचित भइरहेका रितेशको आफ्नै कथा छ, जहाँ उनले गोर्खालीको शिर उच्च हुने वीरता देखाएका छन् ।

गाउँमा सामान्य परिवारमा जमिएर हुर्किएका रितेशले रोजगारीकै लागि बेलायती सेनामा भर्ना भए । त्यो जागिरबाट विदा लिएर पाइलट कोर्ष गर्ने सोच बनाउदै गर्दा उनले अचानक युद्ध लड्नु पर्ने भयो ।

‘अफगानिस्तानको युद्धमा व्रिटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । यद्यपि मसँग अन्य विकल्प थिएन । गोर्खाली भएकोले म युद्धमा लड्न पुगे’, रितेशले भने,‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलिकप्टरमा लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले थाहा पाइन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु ।’

उनलाई छाडेर हेलिकप्टर जाने लाग्दा एकजना अफिसरले देखेर उद्धार गरेका रहेछन । रितेश चार दिनपछि होस्मा आउँदा अस्पतालको बेडमा थिएँ, उनको खुट्टा नचल्ने भइसकेको थियो । डाक्टरले पनि उनलाई त्यहि सङ्केत गरे । त्यो घटनाले उनलाई निराश बनायो । उनले जीवन जिउने चाहनासम्म कम गरे ।

‘अस्पतालबाट डिस्चार्ज भएता पनि म डिप्रेसनमा गएँ । मलाई सामान्य जीवनमा फर्किन तीन वर्ष लाग्यो । गोर्खाली भएकाले हार मानिन्, सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण म राम्ररी हिड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैल अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ’, उनले भने ।

डाक्टरमार्फत डिसेवल (अपाङ्गता) को प्रमाणपत्र पाएका रितेशले नयाँ जीवन सुरु गरे । आफूलाई मानसिकसँगै शारीरिक रुपमा समेत तयार गरेर उनी तेक्वान्दोमा थ्री डनसमेत बने । ‘मैले नेपालको आठ हजार मिटर माथिको हिमाल पनि चढेँ, स्काई डाईभिङ गरेँ, बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि म अभिनयमा आएको हुँ । यो मैले सङ्घर्ष गरेर पाएको दोस्रो जीवन हो’, उनले भने ।

बेलायतको पाइनउड स्टुडियोमा अभिनय सम्बन्धी अध्यन गर्न रितेशलाई हजुरबुवाको कथाले प्रेरित गर्यो । उनको हजुरबुवा व्रिटिस सैनिक हुनका साथै मलाय युद्ध लड्नु भएको थियो । रितेशलाई आफ्नो, हजुरबुवा र गोर्खालीको वीरताको कथालाई विश्वसामु ल्याउनु पर्छ भन्ने लाग्यो । सोही समयमा निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ बनाउने भएपछि रितेशले झनै मेहनत गर्न थाले । उनका अनुसार निर्देशक चाम्सले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास गरेर फिल्ममा अभिनेता बनेका हुन् ।

यस हिसाबले पनि रितेश रियल वारियर हुन् । उनले युद्धको मौदान र जीवनमा लडेका छन् । सोही लडाईबाट सफलता पाएर उनले आफू मुख्य कलाकार भएर आफ्नो पुर्खाको वीरताको कथालाई पर्दामा प्रस्तुत गरेका छन् । फिल्ममा सैनिकको युद्ध जीवनसँगै उसको परिवारले बेहोर्ने पिडा र गर्ने त्यागलाई पनि देखाईएको छ । निर्देशक चाम्स पनि आफैँ पूर्व गोर्खा सैनिक भएकाले पर्दामा गोर्खालीको वीरता र परिवारको सङ्घर्षलाई पर्दामा उतार्न सफल भएका छन् ।

‘आफू गोर्खाली सैनिक नभएको भए मैले केही कुरामा सम्झौता गर्थे होला, तर यसलाई मैले कुनै सम्झौता नगरी तयार गरेको छु । हाम्रो वीरताको कथालाई विश्वले नै पर्खिरहेको छ, त्यसैले सक्दो मेहनत गरेर फिल्म तयार गरेको छु । मैले रितेशलाई मुख्य भूमिका दिनुको कारण नै उ युद्ध लड्दा मात्र नभई जीवनसँग लडेको पनि एक फाइटर हो । जो कोही त्यो अवस्थाबाट सामान्य जीवनमा फर्किन सक्दैन, तर हामी गोर्खाली सास रहदासम्म हार मान्दैनौँ’, निर्देशक चाम्सले भने ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालभर प्रदर्शनरत छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्