ओटीटी । सन् २०२६ फिल्मका हिसाबले मात्र होइन, ओटीटी प्लेटफर्मका दृष्टिले पनि विशेष रहने देखिएको छ । यस वर्ष ठूला बजेटका तथा बहुप्रतीक्षित वेबसिरिजहरू विभिन्न डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आउने तयारीमा छन् । केही श्रृंखलाले पारिवारिक र सामाजिक कथामार्फत मनोरञ्जन दिनेछन् भने केहीले थ्रिलर, सस्पेन्स र एक्सनमार्फत दर्शकको मन जित्ने प्रयास गर्नेछन् ।
नेटफ्लिक्समा रिलिज भएको संजयलीला भन्सालीको वेबसिरिज ‘हीरामण्डी’ ले विवादका बाबजुद ओटीटी प्लेटफर्ममा ठूलो चर्चा कमाएको थियो । यसको दोस्रो श्रृंखला ‘हीरामण्डी २’ सन् २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ । यद्यपि, यसको औपचारिक रिलिज मिति भने सार्वजनिक भइसकेको छैन ।
सोनी लिभको लोकप्रिय वेबसिरिज ‘गुल्लक’ को पाँचौं सिजन पनि यस वर्ष रिलिज हुन सक्ने चर्चा छ । मध्यमवर्गीय परिवारको दैनिकी, संघर्ष र साना खुसीलाई सरल र भावनात्मक ढंगले प्रस्तुत गर्दै आएको यो श्रृंखलाले दर्शकको मन जित्दै आएको छ । यसमा सन्तोष र शान्ति मिश्रासहित उनीहरूका छोराहरूको कथा केन्द्रमा रहनेछ ।
त्यस्तै, अमेजन प्राइमको चर्चित वेबसिरिज ‘पञ्चायत’ को पाँचौं सिजन पनि सन् २०२६ मा आउने तयारीमा छ । छायांकन सुरु भइसकेको भए पनि रिलिज मिति भने अझै सार्वजनिक गरिएको छैन । जितेन्द्र कुमार, नीना गुप्ता र रघुवीर यादव पुनः आफ्ना चर्चित भूमिकामा देखिनेछन् । ग्रामिण भेगको बेथितिलाई प्रस्तुत गरिएको यो सिरिज टिभीएफको लोकप्रिय मध्येको एक हो ।
अभिनेता इमरान हाश्मी अभिनित वेबसिरिज ‘तस्करी : द स्मगलर्स वेब’ सन् २०२६ जनवरी १४ मा नेटफ्लिक्समा रिलिज हुने तयारीमा छ । यस श्रृंखलामा हाश्मी भन्सार अधिकारीको भूमिकामा देखिनेछन् । इम्तियाज अलीको निर्देशनमा बनेको वेबसिरिज ‘ओ साथी रे’ पनि सन् २०२६ मा नेटफ्लिक्समार्फत दर्शकमाझ आउने अपेक्षा गरिएको छ । अदिति राव हैदरी, अविनाश तिवारी र अर्जुन रामपाल मुख्य भूमिकामा रहेका छन् ।
त्यसैगरी, भूमि पेडनेकर अभिनित वेबसिरिज ‘दलदल’ पनि ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । यस श्रृंखलामा भूमि एक डीसीपीको भूमिकामा देखिनेछिन्, जो हत्या रहस्य सुल्झाउने क्रममा राजनीतिक जटिलतामा फस्नेछिन् । ‘अपरेसन सफेद सागर’ नामक वेबसिरिज पनि सन् २०२६ मा नेटफ्लिक्समार्फत रिलिज हुने तयारीमा छ । सन् १९९९ को कारगिल युद्धमा आधारित यो ‘वार ड्रामा’ श्रृंखलाले समुद्र पारि शत्रुसँग लड्दा एक सैनिकले भोग्नुपर्ने संघर्ष, तनाव र साहसको कथा प्रस्तुत गर्नेछ ।
सन् २०२६ ओटीटी दर्शकका लागि विविध विधा, सशक्त कथा र चर्चित कलाकारसहितको मनोरञ्जनले भरिपूर्ण रहने अपेक्षा गरिएको छ ।












