फिल्म । यही वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण पक्षले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको सङ्गीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ ।
गीतको भिडियो भव्य र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको ‘झ्याम पारम’मा फिल्मका मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष उपस्थितिमा देख्न सकिन्छ ।
भिडियोलाई आकर्षक बनाउन सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन रहेको छ ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा निर्देशक पाण्डेयकै रहेको छ भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका छन् ।
फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन् ।
प्राविधिक पक्षतर्फ महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मले वैशाख २५ गतेदेखि देशभरका फिल्म हलमा दर्शकलाई मनोरञ्जन दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।











