फिल्म । आगामी शुक्रबारबाट अर्थात् फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लप्पन छप्पन २’मा आफ्नो क्यारेक्टर अघिल्लो झैँ शसक्त रहेको कलाकार अर्पण थापाले बताए । आइतबार राजधानीमा पत्रकार भेटघाटको क्रममा अभिनेता थापाले ‘लप्पन छप्पन’ भन्दा दोस्रो सिरिज निकै शसक्त बनेको बताए । ‘अघिल्लो फिल्म झैँ क्यारेक्टर देखिए पनि त्यो भन्दा शसक्त छ’ अर्पणले । सौगात मल्ल र अनुपविक्रम शाही लाखेको छायांकनको लागि मुस्ताङमा रहेकाले अनुपस्थीत थिए । कार्यक्रममा मुख्य अभिनेता अपर्ण थापा, शिव श्रेष्ठ र विशाल पहारी उपस्थीत थिए ।
यस्तै निर्देशक मुकुन्द भट्ट ‘लप्पन छप्पन २’ पहिलो पार्ट भन्दा १० गुणा राम्रो बनेको दाबी गरे । ‘पहिलो भागले दर्शको राम्रो साथ पाएपनि म सन्तुष्ट नभएको कारण दर्शकसँगै आफुलाई सन्तुष्ट बनाउन दोस्रो पार्ट तयार गरे’ मुकुन्दले भने । देशमा सिर्जित राजनितिक विषयसँग मिल्दो जुल्दो भएका कारण पनि दर्शकले नयाँपन पाउनुका साथै मनोरञ्जन पनि भरिपुर्ण पाउने उनको भनाई छ ।
नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । यस एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । यसको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । यसमा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।
गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले फिल्म निर्माणमा सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह-निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।










