फिल्म । नेपाली र भारतीय कलाकारको संयुक्त रुपमा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, प्रेम र बिछोड देख्न सकिने ट्रेलरमा एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्षलाई देखाइएको छ । उच्च मेकिंगका साथ आएको ट्रेलरको आकर्षक पक्ष साउन्ड, एक्सन र संवाद हो । उच्च कोटीको एक्सन र सस्पेन्सलाई दर्शकले रुचाउने छन् ।
फिल्मलाई चन्द्र पन्त निर्देशन गरेका हुन् । उनका अनुसार यो एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भनिएको छ । ‘यो फिल्ममा चाहिने सम्पूर्ण मनोरन्जनको खुराक छ । यसले मुहारमा हाँसो ल्याउनुका साथै आँखालाई शितलता दिन्छ । यो सबै वर्गका दर्शकको लागि हो, यो फिल्म हेर्न सपरिवार हलमा पुग्न आग्रह गर्दछु’, निर्देशक पन्तले भने ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।










