फिल्म । नेपाली फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन पार गरेको छ । उक्त अवसरमा काठमाडौँको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाउदै निर्माण टिमले केक काटेका छन् । फिल्मको ५१औं दिनको अवसरमा निर्देशक निश्चल बस्नेतसहित कलाकारहरूले दर्शकलाई धन्यवाद दिएका छन् । कार्यक्रममा कलाकारद्वय खगेन्द्र लामिछाने र दयाहाङ राई, नायिका स्वस्तिमा खड्का, कलाकार विजय बराल, सुमन कार्की, रमा थपलिया लगायतको उपस्थिति थियो ।
सोही अवसरमा निर्देशक बस्नेतले यसको सिक्वेल बनाउने र विसं २०८३ को दसैँमा प्रदर्शनमा ल्याउने घोषणा गरे । उनले भने,‘सिक्वेल बनाउने कुरामा सत्यता छ । तर, त्यसअगाडि केही काम गर्नुपर्ने भएकाले यसलाई तीन वर्षपछि दर्शकले हेर्न पाउनु हुनेछ । हामी आम मानिसकै कथालाई पर्दामा ल्याउने छौं ।’
गत कार्तिक २४ मा प्रदर्शन भएको फिल्ममा व्यवस्थाविरुद्ध असन्तुष्ट आम मान्छेको सङ्घर्ष र शक्तिसम्मको यात्राको कथा प्रस्तुत गरिएको छ । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायत कलाकारको अभिनय छ । फिल्मको निर्माता रौनक विक्रम कँडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् ।











