फिल्म। बैशाख १ गतेबाट प्रदर्शनमा आउने लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथासँगै स्थानीय संस्कृतिलाई देखाइएको छ। ट्रेलरमा फिल्मभित्रका तीन प्रमुख पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको छ ।
कर्णाली क्षेत्रको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा, सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने आरोह-अवरोहमा आधारित रहेको फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइसँगै प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ ।
‘हामीले डेढ महिना कर्णालीमै बसेर छायांकन गर्यौं। स्थानीय पहिरन, खाना, बोलीचाली गर्दै छायांकन हौँ’, अभिनेत्री पन्तले भनिन्। उनले कर्णालीमा अहिले पनि कुनै भूभागमा जारी प्रथा रहेकाले त्यसलाई बन्द गर्न फिल्मले संदेश दिने बताइन। यस्तै, अभिनेता खड्काले मौलिक नेपाली फिल्म ‘बुलाकी’ बनेको बताए। ‘हाम्रो मौलिक फिल्म भनेर जहाँ र जसलाई पनि देखाउन सकिन्छ। यसले कर्णालीको परिवार र समाजलाई चित्रण गरेको छ’, अभिनेता खड्काले भने।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । शिव ढकालको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा, निर्मल पौडेल, राजबहादुर साने र निर्देशक लक्ष्मण सुनार तथा विराज विष्टको पटकथा तथा संवाद छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा फिल्म छायांकन भएको हो ।










