फिल्म । अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलोगीत सार्वजनिक गरिएको गीत ‘फकाउनै जानिन’ लाई दर्शकले रुचाइरहेका छन् । मेलिना राई र निशान भट्टराईको स्वर रहेको गीतमा दीपक शर्माको शब्द र संगीत छ । यसमा आर्यनसँगै उपासना सिंह ठकुरी फिचर्ड छन् भने गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् । गीतमा देखिएको भव्यता र आकर्षणलाई दर्शकले रुचाएका छन् ।
युट्युबमा दश लाख भ्यूज कटाउन सफल भएको गीतले सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ । ‘गीतलाई अडियोको मर्म अनुसार तयार गर्ने कोसिश गरेका छौँ । गीतमा कुनै सम्झौता गरिएको छैन’, कोरियोग्राफर लामिछानेले भने । गीतमा आफूलाई नचाएर राम्री देखाएको भन्दै अभिनेत्री ठकुरीले टिमलाई धन्यवाद दिईन् । ‘मलाई खासै नाच्न आउदैन । यद्दपि मेरो को-स्टार र कोरियोग्राफरले नचाउन सफल हुनुभयो । फिल्ममा काम गर्न पाउँदा खुसी छु । धेरै कुराहरू सिक्न पाएँ’, अभिनेत्री ठकुरीले भनिन् ।
गीतमा अभिनेता सिग्देलले आफूलाई दमदार रूपमा प्रस्तुत गरेका छन् । ‘गीत रमाइलो बनेको छ । धेरै समय पश्चात यसरी नाच्दा रमाइलो लाग्यो । हामीले मेहनत गरेका छौँ । बाँकी दर्शकको हातमा छ’, अभिनेता सिग्देलले भने । उनले अहिले दर्शकले हेर्न चाहेको जस्तै फिल्म ‘डिसेम्बर फल्स’ बनेको समेत बताए । प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना पहिलोपटक स्क्रिन सेयर गरेका छन् ।
पुस १५ गते देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई निर्देशक प्रवीण ओझाको निर्देशन गरेका छन् । फिल्ममा आर्यन, उपासनासँगै नरेश भट्टराई, सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, महेश आर गुप्ताको छायांकन, बनिश शाहको सम्पादन,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । कार्यकारी निर्माता लक्ष्मणप्रसाद रिजाल रहेको फिल्ममा दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी , दिलासा क्रिएसनको मिडिया म्यानेजमेन्ट तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।










