फिल्म । अभिनेता तथा निर्माता ऋषभ शेट्टीको बहुप्रतिक्षित फिल्म ‘कान्तारा: च्याप्टर १’, जुन उनको मेगा ब्लकबस्टर ‘कान्तारा’को प्रिक्वेल हो, २ अक्टोबर २०२५ मा विश्वव्यापी रिलिज हुने भएको छ । होम्बले फिल्म्सले हालै यो मिति औपचारिक रूपमा घोषणा गरेको छ । गत वर्षदेखि निर्माणमा रहेको यो प्यान-इन्डिया फिल्मबारे केही दिनयता स्थगित भएको हल्ला फैलिएको थियो । तर, निर्माण पक्षले ती अफवाहलाई खण्डन गर्दै गान्धी जयन्तीको अवसरमा निर्धारित समयमै रिलिज हुने पुष्टि गरेको छ ।
होम्बले फिल्म्सद्वारा निर्मित यो फिल्ममा ऋषभ शेट्टीले मुख्य भूमिका निर्वाह गर्नुका साथै निर्देशन पनि गरेका छन् । १०० करोडभन्दा बढी बजेटमा निर्माण भएको यो फिल्म कदम्ब राजवंशको समयमा कादुबेट्टु शिवको उत्पत्तिको कथा खोज्छ । अविस्मरणीय उजाड स्थान र बिर्सिएको कथालाई पुनर्जागृत गर्ने यो फिल्मले दर्शकलाई इतिहास र संस्कृतिको गहिराइमा लैजाने अपेक्षा गरिएको छ ।
‘कान्तारा: च्याप्टर १’ कन्नड, हिन्दी, तेलुगु, मलयालम र तमिल भाषामा २ अक्टोबर २०२५ मा रिलिज हुनेछ । यो फिल्मले पहिलो भागको जस्तै व्यापक दर्शकवर्गको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ । ‘कान्तारा’को अपार सफलतापछि ‘कान्तारा: च्याप्टर १’ले पनि दर्शकलाई नयाँ कथावस्तु र भव्य प्रस्तुतिमार्फत मन्त्रमुग्ध गर्ने अपेक्षा गरिएको छ ।