प्रिमियरमा ‘लाखे’ लाई प्रसंसा

फिल्म । प्रदर्शनको दुई दिन अगाडीनै काठमाडौंमा फिल्म ‘लाखे’ को प्रिमियर गरिएको छ । कलाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा गरिएको प्रिमियरमा फिल्मले तारिफ बटुलेको छ । विशेषत यसको द्वन्द्वको दृश्यलाई उपस्थितले निकै प्रसंसा गरेका छन् । फिल्मको क्लाइमेक्सको पनि उत्तिकै तारिफ प्रिमियर सकिए पश्चात भयो । ‘फिल्म हामीले सोचे भन्दा निकै राम्रो बनेछ । हामीले मेहनत त गरेका थियौँ । यद्दपि हाम्रो सिमित श्रोत साधनले धेरै कुरा पर्दामा ल्याउन गाह्रो छ । आज फिल्म हेर्दा निकै खुसी लागेको छ’, अभिनेता प्रशान्त ताम्राकारले भने । उनले फिल्ममा काम गर्दा पारिवारिक माहोलका साथै रमाइलो भएको जानकारी समेत दिए ।

अर्का अभिनेता अनुप विक्रम शाहीले फिल्म नेपाली आँखाले हेरे निराश नबनाउने बताए । ‘हामीले एक स्टेप माथी रहेर फिल्म बनाउने कोसिश गरेका छौँ । नेपाली आँखाले फिल्म हेर्दा निराश बनाउदैन । एक्सन थ्रीलर रुचाउनेका लागि लाखे पुरा प्याकेज हो’, अभिनेता शाहीले भने । उनीसँगै रहेका अर्का अभिनेता आर्यन अधिकारीले छायांकनको समयमा भएको दुर्घटना सम्झिएँ । ‘पहिलो दिन नै एक जना स्टन्डम्यानको सोल्डरमा समस्या आएको थियो । हामीले लाईभ एक्सन गरेकाले जति सावधानी अपनाए पनि जोखिम हुन्छ नै । यद्दपि हिजो गरिएको दुख आज फिल्म हेर्दा बिर्सिए’, अभिनेता अधिकारीले भने ।

यसकिसिमको फिल्मले भिन्न दर्शकलाई तान्ने अभिनेता सौगात मल्लले बताए । उनले आफूले रेगुलर गरिरहेको भन्दा यो फरक रहेको प्रस्ट्याए । अर्का अभिनेता सुशील सिटौलाले चरित्रमा पस्न केही रातहरू अनिदो बसेको सुनाए । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’कार्तिक १८ गतेबाट प्रदर्शनमा आउने छ । यसलाई सम्राट बस्नेत निर्देशन गरेका हुन् । सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्टसको समीश्रण रहेको फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्