फिल्म। वर्ष २०७९ को अन्त्यतीर आइपुग्दा चलचित्र विकास बोर्डले वर्षभरी प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डको अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन्। यद्यपी बोर्डले एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरेको छ। बोर्डको विवरणअनुसार स्वदेशीतर्फ चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेको छ ।
विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत रु १९ करोड २९ लाख १३ हजार सात सय ५८ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिनुभयो । “सबै चलचित्र भवनमा बक्सअफिस प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । तर बोर्डले यसमा अनुमगन बढाएको छ”, अधिकृत पाण्डेले भन्नुभयो। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने विदेशी पाँच चलचित्र यसप्रकार छन् ।
१.केजीएफ : च्याप्टर २
वर्षकै पहिलो दिन नेपालमा प्रदर्शन भएको कन्नड चलचित्र ‘केजीएफ : च्याप्टर २’ नेपालमा सर्वाधिक ग्रस कमाई गर्ने विदेशी चलचित्रको शिर्ष स्थानमा छ। बोर्डले सार्वजनिक गरेको विवरण अनुसार छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत रु १९ करोड २९ लाख १३ हजार सात सय ५८ ग्रस कमाएको छ । बोर्डको विवरण अनुसार यो चलचित्र एक करोड १० लाख भारूमा नेपाल ल्याईएको थियो। ‘केजीएफ’ को दोस्रो शृङ्खला भएकोले यसले विश्वभर आक्रामक व्यापार गर्न सफल भएको थियो। प्रशान्त नीलको निर्देशनमा तयार भएको चलचित्रमा यश, श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
२.पठान
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी चलचित्रको सूचीमा दोस्रो स्थानमा छ ’पठान’।भारतीय अभिनेता शाहरुख खानको कमब्याक चलचित्र भनिएको ’पठान’ मा दीपिका पादुकोण, जोन अब्राहमसँगै विशेष भूमिकामा सलमान खानको अभिनय रहेको छ। अभिनेताद्वय खानलाई एकसाथ देखाईएपछि यसले भारतमा एक हजार करोडको व्यापार गरेको सूचना निर्माण कम्पनिले प्रकाशित गरेको थियो। यो चलचित्रले नेपालमा चार लाख ३७ हजार दुई सय ४५ टिकेट बिक्री भएबापत तेह्र करोड २७ लाख एकानब्बे हजार ३ सय ६० रुपैयाँको ग्रस कमाई गरेको छ। सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रलाई यशराज फिल्म्सले निर्माण गरेको हो।
३. अवतार : द वे अफ वाटर
विश्वमै सबैभन्दा धेरै कमाई गर्ने हलिउड चलचित्र ‘अवतार’ को दोस्रो शृङ्खलाको रूपमा तयार भएको ‘अवतार : द वे अफ वाटर’ निर्माणदेखि नै चर्चामा थियो। विश्वभर झैँ नेपालमा समेत प्रतिक्षित मानिएको चलचित्रको दुई लाख ६८ हजार छ सय ७४ टिकेट बिक्री भएबापत आठ करोड ३० लाख ६७ हजार आठ सय ८६ रुपैयाँको ग्रस कमाई गरेको छ। निर्देशक जेम्स क्यामरूनले यसलाई तेह्र वर्ष समय दिएर तयार गर्नुभएको थियो।
पानीमुनि खिचिएको चलचित्रमा अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथा प्रस्तुत गरिएको छ। सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको चलचित्रमा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतले अभिनय गर्नुभएको छ।
४. ब्रह्मास्त्र : पार्ट वान शिवा
भारतमा सन् २०२२ मा निकै चर्चामा रहेको चलचित्र हो,‘ब्रह्मास्त्र : पार्ट वान शिवा’ । करण जोहरको निर्माण तथा अयान मुखर्जीको निर्देशनमा तयार भएको चलचित्रमा रनवीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुनसहित शाहरुख खान विशेष भूमिकामा हुनुहुन्छ। यो चलचित्रको एक लाख ५० हजार एक सय ४३ टिकेट बिक्री भएबापत चार करोड ४७ लाख पाँच हजार ८ सय ८३ रुपैयाँको ग्रस कमाई गरेको छ।
५. डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी चलचित्रको सूचीमा पाँचौँ स्थानमा ‘डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस’ रहेको छ। डक्टर स्ट्रेञ्जको दोस्रो शृङ्खला रहेको चलचित्रको कमाई एक लाख २४ हजार एक सय ५९ टिकेट बिक्री भएबापत तीन करोड ८१ लाख छ हजार ५ सय ११ रुपैयाँ भएको थियो। निर्देशक सामुएल मार्शल राइमीको निर्देशनमा तयार भएको चलचित्रमा बेनेडिक्ट कुम्बरब्याच, एलिजाबेथ ओल्सेन, चिवेटोल इजोफोर, बेनेडिक्ट वङको अभिनय रहेको छ।