‘शो नपाउने समस्या नीतिगत रुपमै समाधान गर्छौं’

फिल्म । चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले नेपाली फिल्मले ६० प्रतिशत भन्दा बढी शो पाउनु पर्ने बताउनु भएको छ । उहाँले प्रदर्शनको समयमा पछिल्लो समयमा देखिने गरेको विषयमा सार्वजनिक रुपमै धारणा राख्नु भएको हो । नेपाली – इन्डियन संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘सायरा’ को घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आफू सदैव नेपाली फिल्मको हकमा आवाज उठाइरहेको अवगत समेत गराउनु भयो । केहि समय यता नेपाली फिल्मले सहर केन्द्रीत मल्टिप्लेक्सहरुमा शो नपाएको गुनासो बढिरहँदा अध्यक्ष केसीले आफूहरु नीतिगत रुपमै समधान खोजिरहेको बताउनु भएको छ । पछिल्लो समय आफूलाई बदनाम गराउने नियतले अनावश्यक हल्ला फैलाएको भन्दै फिल्मले पाउने शोमा बोर्डको कुनै संलग्नता नरहे बताउनु भयो ।

‘केहि समय यता शो नपाउँदा बोर्डलाई दोषी बताउने गरिएको छ । यद्दपि शो पाउने विषयमा भने बोर्डको कुनै सहभागिता नरहने म प्रष्ट्याउछु । यद्दपि म नेपाली फिल्मले ६० प्रतिशत भन्दा बढी शो प्रदर्शनको समयमा पाउनु पर्छ भन्नेमा स्पष्ट छु’ अध्यक्ष केसीले बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उहाँले प्रदर्शनको समयमा नेपाली फिल्मलाई शोमा संख्या कम नगर्न हुनेमा जोड दिनु भयो ।

‘हामी यस्ता समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्ने तयारीमा जुटेका छौँ । किनकी नेपाली फिल्मले प्रदर्शनको सुरुवाती समयमा निश्चित शो पाउनु पर्छ । दर्शक आएनन् भने शो घटाउदा हुन्छ । तर हामीलाई नपत्याउने परिपाटी निन्दनीय छ’ उहाँले भन्नु भयो । नेपालका हलमा नेपाली फिल्मनै प्राथमिकता पाउनु पर्नेमा कुनै शंका नरहेको बोर्ड अध्यक्ष केसीले प्रस्ट्याउनु भयो । ‘सायरा’ लाई सफलताको शुभकामना दिदै उहाँले हिन्दी भाषा मार्फत नेपाली फिल्मको बजार विस्तार हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

पछिल्लो समय ‘प्रेम गीत ३’ ले देखाएको बाटो मार्फत नेपाली फिल्मलाई विश्वबजारमा पु¥याउन सक्ने उहाँको भनाइ छ । ‘हामीले अब नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउनु पर्छ । हामी अन्य देशका फिल्म भन्दा कम छैनौ । हाम्रो देशको सुन्दरताले विश्व फिल्ममा हाम्रो उपस्थिति बलियो बनाउने विश्वास छ’ उहाँले भन्नु भयो ।

फोटो : ज्ञानु राई
कमेन्ट गर्नुहोस्