फिल्म । आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । फिल्मलाई यहिँ आइतबार ५ गते विश्वमै पहिलोपटक दर्शकले हेर्नेछन् । जुम्लाको बजार र तिर्खु गाँउमा छायाँकन भएको फिल्मलाई सोही गाँउको मोक्ष माध्यमिक बिद्यालयको प्राङगणमा देखाइने निर्देशक दिनेश राउतले बताए । प्रिमियरमा सहभागी हुन् लेखक विकाश सुवेदी सहित जुम्ला पुग्नेछन् । फिल्मले जुम्लाको पात्र ‘प्रकाश’ को कथा भन्न लागेकोले पहिलो प्रदर्शनी त्यहिँ गर्न लागिएको राउतले बताए । फिल्मले निम्नवर्गीय ‘प्रकाश’ ले समाजबाट चाहेको सम्मान र सिस्टमबाट चाहेको अवसरको कथा भन्छ ।
स्थानिय राजनीतिक दलका प्रतिनिधी, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु सहित गाँउबासिले फिल्म हेर्ने छन् । फिल्मले जुम्लाको पात्र ‘प्रकाश’ मार्फत स्थानीय भाषा , संस्कृति , सौन्दर्य , संस्कार , रितिरिवाजलाई पनि उजागर गर्नेछ । फिल्ममा स्थानीय वासिन्दाले पनि अभिनय गरेका छन् । ‘स्थानीय नन आर्टिस्टहरु पनि फिल्ममा हुनुहुन्छ । उहाँहरुलाई फिल्म हेर्न हल छैन । तर , हामी उहाँहरुलाई नै पहिलोदर्शक बनाउन चाहन्छौँ’ निर्देशक राउतले भने ।
स्थानीयले फिल्म हेरेर दिने प्रतिक्रियाले निर्देशकको रुपमा धेरैनै प्रभाव पार्ने भएकोले वर्ल्ड प्रिमियरलाई लिएर आफू उत्साहित रहेको निर्देशक राउतले बताए । प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शक माँझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकी उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिल भन्दा बाहिरका प्रदीप फरक छन् ।
मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।