फिल्म । यसवर्षकै प्रतिक्षित फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आउनु अगावै भरिभराउ हुन् थालेको छ । देशभरका मल्टिप्लेक्सले शो खुलाएसँगै आफूलाई पायक पर्ने स्थानमा दर्शकले टिकेट लिईरहेका छन् । देशभर तीन सय बढी शोमा प्रदर्शन हुने फिल्मको नेपालगञ्जमा रहेको सिने रोयल हलमा शुक्ररबारको पहिलो शो नै हाउसफुल भएको छ ।
उक्त सिनेमा हलले ९ शो उपलब्ध गराएको छ, जहाँ दर्शकको उपस्थिति बढिरहेको छ । फिल्मको समीक्षा आएपछि दर्शक बढिरहेको परिपेक्षमा प्रदर्शन अगावै हाउसफुल हुनुलाई ‘ब्राण्ड भ्यालु’ र ‘महाजात्रा’ समुह प्रतिको विश्वास भनिएको छ । सायद सिने रोयलमा प्रदर्शन अगावै शो हाउसफुल भएको यो पहिलो रेकर्ड हो। यो रेकर्डलाई आँकलन गर्ने हो भने नेपालगञ्जमा ‘महाजात्रा’ले आक्रमक व्यापार गर्ने तय जस्तै भएको छ ।
यस्तै, काठमाडौँ उपत्यकाका क्युएफएक्स अन्तर्गतको लाविम मल र सिभिल मलका शोमा पनि दर्शकको चाँप बढिरहेको छ । दर्शकले व्यक्त गर्नुभएको माया र देखाउनु भएको विश्वासलाई फिल्मले बढाउने निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।
‘हामीलाई दर्शकले देखाउनु भएको माया अद्भुत छ । फिल्म नहेर्दै व्यक्त गरिरहनु भएको माया बढाउने काम गरेका छौँ । उहाँहरूले गर्नुभएको विश्वास बढ्ने छ । यसपटक हामीले रमाइलोसँगै फिल्मकर्मीको दायित्व बोध गरेर राष्ट्रिय विषयलाई समेत उठाएका छौँ’, निर्देशक भट्टराईले भने । उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेका छन् ।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा रिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।










